प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको छैटौं स्थापना दिवस
Border Point Restaurant and Cafe

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको छैटौं स्थापना दिवस

विर्तामोड । प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको छैटौं स्थापना दिवस सोमबार विर्तामोडमा सम्पन्न भएको छ ।

From KTM Dainik TV ! Subscribe Us for More Videos

केन्द्रले स्थानीय तहका न्यायिक समितिका संयोजकहरुसँग स्थानीय क्षेत्रमा न्याय सम्पादनमा भोग्नु परेका समस्या र चुनौतिका विषयमा अन्तरक्रिया गरेको थियो ।

केन्द्रकी स्रोत व्यक्ति संगीता थापाले एक बर्षभित्र जिल्ला तथा बाह्य जिल्लामा संस्थाले गरेका गतिविधिका बारेमा जानकारी गराएकी थिइन् । उनले कतिपय अदालतमा पुगेका मुद्धा समेत केन्द्रले आपसी सहमतिमै मिलाएका घटनाहरुको दृष्टान्त समेत पेश गरेकी थिइन् ।

केन्द्रले स्थानीय क्षेत्रमा उठेका मुद्दाहरुलाई न्याय निरुपण गर्न स्थानीय तहमै सजिलो होस् भनेर जिल्लाका १५ वटै स्थानीय तहका न्यायिक क्षेत्रमा काम गरिरहेका सदस्यहरुलाई चालू आर्थिक बर्षमा तालिम समेत प्रदान गरेको थियो ।

स्रोत व्यक्ति थापाले जनप्रतिनिधि आएसँगै स्थानीय तहमा सहकार्य गरेर काम गर्न सजिलो भएको समेत बताइन् ।

जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतराले पछिल्लो समय ‘मिटर व्याज’को समस्याले न्याय निरुपणमा समस्या परेको बताइन् । उनले अधिकांश महिलाहरुले नै यसलाई व्यवसाय रुपमा अंगालेको समेत न्याय सम्पादनमा पाइएको बताइन् ।

कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाईले न्यायिक समितिमा आउने मुद्दाहरु अधिकांश साँध सिमानाका हुने गरेको बताइन् । उनले कतिपय विद्यालय र सामुदायिक वनका जग्गाहरु अतिक्रमणमा परेका कारण न्याय सम्पादनमा संस्थाले नगरसँगै समन्वय गरेर काम गरिरहेको जानकारी दिइन् ।

शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपालले नगरमा सबै खाले मुद्दा आउने हुँदा विचार पुर्याएर मात्र काम गर्ने गरेको बताइन् । उनले मिटर व्याजको समस्या शिवसताक्षीमा पनि कायम रहेको बताइन् ।

कमल गाउँपालिकाका उपाध्यक्ष बेनुप्रसाद शिवाकोटीले विशेष गरेर जल जमिनसँगका मुद्धाहरु निरुपण गर्न रुपान्तरण केन्द्रको महत्वपूर्ण भूमिका रहेको बताए ।

बाह्रदशी गाउँपालिकाकी उपाध्यक्ष रत्ना राजवंशीले न्यायिक समितिमा पारिवारिक द्वन्द्वका मुद्धाहरु बढी आउने गरेको बताइन् । उनले हालसम्म आएको मुद्दाहरु न्यायिक समितिमै मिलाएको जानकारी दिइन् ।

कचनकवल गाउँपालिकाकी उपाध्यक्ष निमसरी राजवंशीले कचनकवल गाउँपालिकामा रहेको झिलको जग्गा विवाद मिलाउन समस्या भएको बताउँदै केन्द्रलाई सहजीकरण लागि सहयोग गरिदिन आग्रह गरेकी थिइन् ।

केन्दका सहजकर्ता मानबहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा छत्र गिरीले सञ्चालन गरेका थिए । केन्द्रले प्रत्येक बर्षको स्थापना दिवसमा विभिन्न सरोकारवाला निकायसँग छलफल र अन्तरक्रिया गरेर मनाउँदै आएको छ ।

प्रतिकृया दिनुहोस्